नेपाल हेर्ने चीनियाँ आँखा

संजीव गिरी/बेइजिङबाट फर्केर

बेइजिङको सिल्क मार्केटबाट स्यानलिटनतर्फ जाने बाटोमै हु ज्याङवेको अफिस छ । उमेरले ६० नाघेका उनी चाइना पब्लिक डिप्लोमेसी एसोसिएसनका उपाध्यक्ष हुन् । सिल्क मार्केट भनिने उनको अफिस भएको क्षेत्र कर्पोरेट हाउसहरु, तारे होटल, सपिङ मल, कूटनीतिक आवास क्षेत्र र फराकिला बाटोहरुबिच छ । त्यहाँबाट झण्डै आधा घन्टाको हिंडाईमा बेइजिङको अर्को प्रमुख क्षेत्र हो स्यानलिटन । ज्याङवे र यी दुवै ‘कम्समोपोलिटन जङ्सन’ बाह्य जगतलाई रोकेर गरिएको चीनको सांस्कृतिक क्रान्तिदेखि बाहिर निस्किन खोजिएको सि चिनफिङको समयका साक्षी हुन् ।

ज्याङवेलाई भेट्नुभन्दा अघि पनि दर्जनौंपटक म सिल्क मार्केट र स्यानलिटनमा टहलिन पुगेको थिएं । अमेरिका र युरोपका लागि दिनहुँ छुट्ने दर्जनौं ननस्टप फ्लाइट पकड्दै छुट्टिका गन्तव्य बनाउने पुस्ताहरु ज्यादा भेटिने यी ठाउँहरुमा टुटफुट नै सही, अन्यत्रभन्दा फरक, अंग्रेजीले काम चलाउन सकिन्छ । त्यो खुलापनसँगै हुर्किरहेको चीनियाँ समाजको झल्को हो । बरु छिमेकको काठमाडौं आवतजावत गर्न चीन भित्रै वा बाहिर ट्रान्जिटमा उत्रनुको विकल्प छैन ।

दिनप्रतिदिन झन् बढि खुलापन अंगालीरहेको चीन नेपालसँग नजिकिंदो छ वा टाडिंदो छ ? एक वाक्यमै उत्तर दिन ज्याङवेलाई गाह्रो छ । तर उत्तर बनाउने जिम्मा मतिरै छाडेर उनले एउटा पुरानो किस्सा सुनाए । आफ्नो बाल्यकालमा चीन–नेपालको झण्डा फहराउंदै बेइजिङ एयरपोर्टमा राजा महेन्द्रलाई स्वागत गर्न पुग्नेमध्ये उनी पनि एक रहेछन् । ग्रिनटिको चुस्कीसाथ पुराना दिन सम्झेर उनी उत्साहित बने, “टेलिभिजनले यति धेरै नेपाली राजाको भ्रमणलाई कभरेज गरेको थियो कि हामी थुप्रैमाझ नेपाल मात्र होइन राजाको नाम नै सजिलै मुखमा झुण्डिएको थियो ।”

त्यो त्यस्तो समय थियो जतिखेर चीनको ढोका विश्वको लागि बन्द थियो र संसारले समेत उसलाई सक्दो एक्ल्याउन खोजेको थियो । तर ज्याङ्वेकै शब्दमा नेपालसँगको चीनको तत्कालिन सम्बन्ध भने बाह्य जगतसँग जोड्ने सेतुको रुपमा थियो ।

आधा शताब्दीमा परिवेश पूरै फेरिएको छ । उत्तिकै फेरिएका छन् चीनका प्राथमिकता, शैली, लक्ष्यहरु । म जान्न चाहिरहेको थिएं, “बाल्यकालमा ज्याङ्वेले जसरी आफ्नो मानसपटलमा नेपालको चित्र देखे के त्यसरी नै उनको नाती पुस्ताले हेरिरहेको छ त ?”

Continue reading

‘वान बेल्ट वान रोड’मा सहकार्य


संजीव गिरी
/बेइजिङ, प्रदीप बस्याल/छेन्दु

जेठ ३० मा चीनको कुन्मिङमा आयोजित चीन–दक्षिण एसिया एक्स्पोको उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न नेपाल आतुर रहेको बताए । उनको मन्तव्य नेपाली नेतृत्वले अघिपछि गर्ने औपचारिकता मात्र नभई आत्मविश्वासले भरिएको सजिलै बुझिन्थ्यो । उनलाई आत्मविश्वास भर्ने काम गरेको थियो, प्रधानमन्त्री केपी ओलीको पछिल्लो चीन भ्रमण र त्यसक्रममा भएको १० बुँदे समझदारीले । उनले त्यस अवसरलाई चीनको ‘वान बेल्ट, वान रोड’ अवधारणाप्रति नेपालको साथ र समर्थनलाई पुन: स्मरणमात्र गराएनन्, उनकै शब्दमा नेपालजत्तिकै चीन पनि द्विपक्षीय सम्बन्धलाई मजबुत पार्न केन्द्रित हुने विश्वास व्यक्त गरे ।

देशमा नयांँ संविधान जारी भएसँंगै उब्जिएको राजनीतिक विकासक्रमबीच भारतको अघोषित नाकाबन्दीका कारण चाहेर वा नचाहेरै नेपालले ‘चिनियांँ कार्ड’ खेल्नुपर्‍यो । लगत्तै प्रधानमन्त्री ओलीले ट्रान्जिट, पारवहन, पूर्वाधार र ऊर्जा अन्वेषणमा सघाउने पक्ष समेटिएको १० बुँदे सम्झौतामा चीनसँंग हस्ताक्षर गरे । नेपाल र चीन दुवै पक्षबाट ऐतिहासिक भनेर दाबी गरिएको उक्त सम्झौताको तरंग अहिले भारतसम्म छ । प्रश्न उब्जिन्छ, ‘के नेपालमा भारतीय नाकाबन्दी नभएको भए नेपाल–चीन यसरी नजिकिन्थे त ?’ सिचुवान विश्वविद्यालयको इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजकी कार्यकारी निर्देशक प्राध्यापक ली ताओले एउटा चिनियाँं भनाइको सहारा लिएर कूटनीतिक जवाफ दिइन्, ‘हरेक काममा सफलता पाउन सही अवसर, राम्रो माहोल र सही व्यक्ति चाहिन्छ । अहिले यी तिनै पक्ष हाम्रालागि अनुकूल छन् ।’

अर्थात् चीन पहिल्यै तयार थियो । नाकाबन्दीले त्यसलाई ‘प्राकृतिक’ बनाइदियो । चिनियाँंहरू जति धेरै र छिटछिटो काम गर्छन्, उत्तिकै कम बोल्छन् । शान्तिपूर्ण रूपमा उदाइरहेको बताउने चीन ‘आफ्नो राजनीतिक दर्शन निर्यात नगर्ने’ र ‘अहस्तक्षेपकारी’ विदेश नीतिको अभ्याससँंग निकै संवेदनशील छ । चीन आफ्नो मौलिक पक्षलाई बोकेरै विश्वशक्ति बन्न चाहन्छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र र खरिद शक्तिमा पहिलो भइसक्दा पनि चीनलाई धनी हुनपुगेको छैन । चिनियांँ आहान ‘धनी हुन चाहन्छौ भने पहिले बाटो बनाऊ’ ले भनेजस्तै सन् २०१३ मा राष्ट्रपति भएसँंगै सी जिनपिङले एउटा महत्त्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ (ओबीओआर) घोषणा गरेका थिए । चिनियाँं विदेशनीति अहिले यसकै सेरोफेरोमा घुमिरहेको छ । र नेपालसंँगको बढ्दो सहकार्य पनि त्यसैबाट निर्देशित छ । Continue reading